किमको चीन भ्रमण 'निकै राम्रो भएको' ट्रम्पलाई जानकारी गराइएपछि उनको पछिल्लो भनाइ आएको छ।
तर ट्रम्पले मेका लागि प्रस्तावित वार्ताअघि उत्तर कोरियाविरूद्धको अधिकतम नाकाबन्दी र दबाब जारी रहने बताए।
किमले सन् २०११ मा सत्ता सम्हालेयता पहिलो विदेश भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिसँग गरेको भेटवार्तापछि ट्रम्पले त्यस्तो टिप्पणी गरेका हुन्।
किम र उनकी श्रीमतीलाई बेइजिङमा पुष्पगुच्छा र 'गार्ड अफ अनर' बाट सम्मान गरिएको थियो।
आफ्नो भ्रमणका क्रममा किमले निश्शस्त्रीकरणका लागि आफू प्रतिबद्ध रहेको बताएको विवरणहरू सार्वजनिक भएका छन्।
चीन उत्तर कोरियाको प्रमुख व्यापारिक साझेदार हो।
बेइजिङमा उत्तर कोरियाली र चिनियाँ नेताबीचको वार्ताबारेका अड्कलबाजीपछिका प्रगतिका समाचारहरू आएपछि बुधवार ट्रम्पले त्यसको स्वागत गरेका हुन्।
ट्रम्पले ट्वीट गरेका छन्, "किम जङ-अनले आफ्ना जनता र मानवताका लागि राम्रो गर्ने अवसर आएको छ।"
अर्को ट्वीटमा ट्रम्पले लेखेका छन्, "किम पनि मसँग भेटवार्ता गर्न प्रतीक्षारत छन्।"
अप्रत्यासित शिखर बैठकका लागि ट्रम्पले सहमति जनाएपछि धेरै विश्लेषकहरू आश्चर्यमा परेका छन्।
उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्ने ट्रम्प पहिलो बहालवाला अमेरिकी राष्ट्रपति हुनेछन्।
महिनौँदेखिको तनाव र शृङ्खलाबद्ध उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणपछि भेटवार्ताबारे घोषणा गरिएको थियो।

No comments:
Post a Comment